पुरुष र पुरुषत्वहरू जर्नल अंक १ का लागि लेख/रचना आव्हान

नेपालमा लैंगिक अध्ययनको औपचारिक सुरुवात भएको एक दशकभन्दा बढी समय भइसकेको छ । लैंगिक अध्ययनको क्रममा पुरुष र पुरुषत्वहरुको अध्ययन पनि एउटा महत्वपूर्ण क्षेत्र हो भन्ने कुरालाई मध्यनजर गर्दै लैंगिक अध्ययन विभागले यस सम्बन्धी विषयको अध्ययन अध्यापन पनि गर्दै आइरहेको छ । विभाग विभिन्न संघसंस्थाहरुसँग समन्वय गरि समसामयिक मुद्दाहरुमाथि छलफल, अन्तरक्रियाका साथै हालसालै पुरुष र पुरुसत्व विषयमा पाँच हफ्ते अनलाईन कोर्स पनि सन्चालन गर्न गइरहेको छ ।

हामी दाजुभाइले विगत ३ वर्षबाट नेपालमा फेमिनिज्म र पुरुष विषयमा बहसहरू विभिन्न माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सन् २०२० मा पहिलोपटक फेमिनिज्म र पुरुष सम्मेलनको आयोजना गरी हामी दाजुभाइले नेपालको फेमिनिस्ट आन्दोलनभित्र पुरुष, पितृसत्ता र पुरुषत्वका विषयमा छलफलको थालनी गरेको थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लैंगिक अध्ययन विभागसँगको सहकार्यमा दोस्रो सम्मेलनको क्रममा सन् २०२१ मा लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता विषयमा केन्द्रित रहेर कार्यक्रमको आयोजना गरिएको थियो ।

यस वर्ष तेस्रो सम्मेलनको तयारीमा सम्मेलनको आयोजनाको साथै लैंगिक अध्ययन विभाग र हामी दाजुभाइले पुरुष र पुरुषत्वका बिषयमा प्राज्ञिक कार्य गर्ने उद्धेश्य सहित पुरुष र पुरुषत्वहरुको अध्ययन केन्द्र  अर्थात् सेन्टर फर मेन एंड मस्कुलिनिटिज स्टडिज (Center for Men and Masculinities Studies- CMMS) अन्तर्गत नेपालमा पहिलो पटक पुरुष र पुरुषत्वहरू विषयमा जर्नल प्रकाशन गर्ने निर्णय लिएको छ । यसर्थ यस वर्ष जर्नल प्रकासन गर्नुका साथै उक्त लेखहरुबारे चर्चा आउँदो फेमिनिज्म र पुरुष सम्मेलनको उद्देश्य रहेको छ ।

आगामी दिनमा समेत यसलाई निरन्तरता दिने लक्ष्य राखिएको यस जर्नलमा यस वर्ष हामी नेपालमा मानव अधिकारका विविध आन्दोलनहरुमा पुरुष र पुरुषत्वहरू भन्ने विषयमा लेखहरू प्रकासन गर्नेछौं । जस अन्तर्गत १२ वटा लेखहरू हुनेछन् ः

  1. नेपालको मानव अधिकार आन्दोलनमा पुरुष र पुरुषत्व

  2. नेपालको महिला आन्दोलनमा पुरुष र पुरुषत्व

  3. नेपालको जनजाति आन्दोलनमा पुरुष र पुरुषत्व

  4. नेपालको दलित आन्दोलनमा पुरुष र पुरुषत्व

  5. नेपालको मधेसी आन्दोलनमा पुरुष र पुरुषत्व

  6. नेपालको अपांगता सम्बन्धी आन्दोलनमा पुरुष र पुरुषत्व

  7. नेपालको मुस्लिम आन्दोलनमा पुरुष र पुरुषत्व

  8. नेपालको युवा अधिकार आन्दोलनमा पुरुष र पुरुषत्व

  9. नेपालको बालअधिकारवादी आन्दोलनमा पुरुष र पुरुषत्व

  10. नेपालको लैंगिक तथा यौनिक अल्पसंख्यक आन्दोलनमा पुरुष र पुरुषत्व

  11. नेपालको थारु तथा आदिवासी आन्दोलनमा पुरुष र पुरुषत्व

  12.  फेमिनिस्ट आन्दोलनमा पुरुष र पुरुषत्वको अध्ययनको आवश्यकता

 

लेख नेपाली भाषा ३५०० देखि ५००० शब्द सम्ममा लेखिएको हुनु पर्नेछ । अनुसन्धानमा आधारित अथवा आफैं आन्दोलनमा लागेको अनुभवात्मक ज्ञान र अवलोकनको आधारमा पनि लेख्न सकिने छ । लेखकका रुपमा छनौट भएका व्यक्तिहरुसँग आयोजकद्वारा जर्नलको अवधारणामाथि विस्तृत छलफल र यसको प्रक्रियाका बारेमा समेत छलफलको कार्यशालाको आयोजना गरिनेछ ।

समयाबधि

  • आवेदन खुला : फाल्गुण २०, २०७९

  • लेखकले एब्स्ट्रयाक बुझाउने अन्तिम मिति : चैत्र ५, २०८०

  • छनौट सम्बन्धि सूचना : चैत्र १०, २०७९

  • लेखन कार्यशाला : चैत्र १५, २०७९

  • पियर रिभ्यूका लागि रचना सम्प्रेषण गर्ने मिति : चैत्र ३०, २०७९

  • तेस्रो फेमिनिज्म र पुरुष सम्मेलन को आयोजना तथा लेख प्रस्तुति र सुझाव संकलन : बैसाख १२, २०८०

  • लेखको अन्तिम प्रारूप बुझाउने मिति : बैसाख २५, २०८०

सम्पादन टोलीले पुरुष र पुरुषत्व भनी कस्ता विषय उत्थान गर्न खोजिएको हो त्यसको बारेमा छलफल गरि समायावधि पनि निक्र्यौल गरिनेछ । लेखको पहिलो अवधारणागत मस्यौदा यहि मिति २०७९ बैसाखको दोस्रो हप्तामा आयोजना हुने फेमिनिज्म र पुरुष सम्मेलन २०८० मा लेखकले प्रस्तुत गर्नुपर्नेछ र उक्त प्यानलका प्यानलिस्ट र सहभागीहरुको सुझावपश्चात दोस्रो मस्यौदा सम्पादन समूहलाई दिइएको समयावधिभित्र उपलब्ध गराउनु पर्नेछ । सम्पादन समूहको तर्फबाट कमेन्ट प्राप्त भएपश्चात लेखकले आफ्नो लेखलाई अन्तिम रुप दिनु पर्नेछ ।

समयावधिपश्चात प्राप्त भएका लेखहरुलाई यस अंकमा समावेश गरिने छैन । सम्पूर्ण लेखहरू फेमिनिस्ट दृष्टिकोणबाट लेखिएको हुनुपर्नेछ ।

धन्यवाद

सम्पादक समूह

पुरुष र पुरुषत्वहरू जर्नल

cmms.nepal@gmail.com

 

  • त्रि.वि. लैंगिक अध्ययन विभाग बारे बुझ्न यहाँ जानुहोस् – https://dgstu.edu.np/ वा फेसबुक पेज https://www.facebook.com/profile.php?id=100089800766289

  • हामी दाजुभाइको कार्यहरुबारे जान्न यहाँ जानुहोस् – www.hamidajuvai.org.np

  • अघिल्ला फेमिनिज्म र पुरुष सम्मेलनका भिडियोहरू संस्थाको फेसबुक पेजमा उपलब्ध छन् – https://www.facebook.com/DajjuVai